न्युयोर्क, संयुक्त राज्य अमेरिका
न्युयोर्कमा कार्यरत नेपाली डेलिभरी र इन्डिपेन्डेन्ट राइडरहरूको एक समूहले विशेष बनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ। न्युयोर्कको क्विन्सस्थित ‘कोरोना पार्क’ मा आयोजना गरिएको उक्त पिकनिकमा करिब २०० जना नेपाली एप–वर्कर्स (App Workers) हरूको उत्साहजनक सहभागिता रहेको थियो।
हजारौँको संख्यामा नेपाली डेलिभरी राइडरहरू आबद्ध रहेको यस समूहले कार्यक्षेत्रमा आइपर्ने विभिन्न समस्याहरूमा एकअर्कालाई सहयोग गर्दै आएको छ। विशेषगरी डेलिभरीको क्रममा हुने सवारी दुर्घटना, सवारी साधन चोरी वा अन्य प्राविधिक तथा कानुनी अप्ठ्यारो पर्दा यो समूहले आवश्यक प्रक्रियामा सहजीकरण र सहयोग गर्ने गरेको छ।
कार्यक्रमका आयोजक तथा समूहका नेतृत्वकर्ता विमल घलेले समूहको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य भनेकै कामको सिलसिलामा समस्यामा परेका साथीहरूलाई साथ दिनु हो। जोसुकै नेपाली पनि यस समूहमा आबद्ध हुन सक्नुहुन्छ र आगामी दिनमा हामी यसलाई अझ व्यवस्थित र बलियो बनाउँदै थप रचनात्मक कार्यक्रमहरू ल्याउने योजनामा छौँ।”
उक्त अवसरमा रारा ग्रुप अफ कम्पनी (Rara Group of Company) की निर्देशक सिर्जना तुलाधरले पनि आफ्नो उपस्थिति जनाउनुभएको थियो। उहाँले परदेशको व्यस्त समयका बाबजुद पनि यसरी संगठित भएर सामाजिक कार्यमा लाग्नु उदाहरणीय रहेको बताउनुभयो। यस्ता कार्यमा आफ्नो र संस्थाको तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
यस जमघटले न्युयोर्कमा रहेका नेपाली कामदारहरूबीच आपसी भाइचारा र एकता कायम गर्न ठुलो सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
आज, मे ५, २०२६ मा कोरोना पार्कमा आयोजना गरिएको साथी समूहको पिकनिकका केही तस्बिरहरू यहाँ छन्।






अतिथिहरूद्वारा शुभकामना व्यक्त
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समूहको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना दिनेहरूमा GNN Media & Event का CEO वीरेन्द्र गिरी, नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट (Nepalese American Law Enforcement) का तर्फबाट सोमान घिसिङ, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरका अध्यक्ष आदिप तामाङ तथा मामाभाञ्जा ग्रुपका प्रतिनिधि जोन लामा लगायत हुनुहुन्थ्यो। वक्ताहरूले डेलिभरी राइडरहरू संगठित हुनु गौरवको कुरा भएको बताउँदै समूहको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
मनोरञ्जनात्मक प्रस्तुति
“विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति र मनोरञ्जनात्मक प्रस्तुतिले बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। यसले न्युयोर्कमा श्रम गरिरहेका नेपालीहरूबीच एकताको सन्देश दिएको छ।”
बनभोज कार्यक्रमलाई थप रोचक बनाउन चर्चित जादुगर तथा कलाकार महादेव त्रिपाठीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। उहाँले आफ्नो कला र ठट्टा मार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
GNN समाचार


Lets Support Somnath Ghimire for District 30 Assembly.


GNN Media and Event Inc. is organizing Chess Competition Event shortly, If you are interested Please visit us to join the competition.