न्यूयोर्कमा पहिलो ‘एनआरएनए कप इन्टरस्टेट खुला भलिबल प्रतियोगिता’ आयोजना हुने |

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी–अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा पहिलो पटक ‘फर्स्ट एनआरएनए कप इन्टरस्टेट खुला भलिबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर ५ र ६, २०२६ (शनिबार र आइतबार) न्यूयोर्कस्थित क्विन्सब्रिज पार्क मा सञ्चालन हुने आयोजकले जनाएको छ। नेपाली समुदायबीच खेलकुदमार्फत एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितामा अधिकतम १६ टोली सहभागी हुन सक्नेछन् भने प्रत्येक टोलीमा अधिकतम १२ खेलाडी रहने व्यवस्था गरिएको छ। खेलमा एकै समयमा ६ खेलाडी कोर्टमा रहनेछन्। प्रतियोगितामा नेपाली समुदायका टोलीहरूलाई मात्र सहभागिताको अवसर प्रदान गरिएको छ। विभिन्न राज्यका नेपाली टोलीहरूबीच प्रतिस्पर्धा गराई अन्तरराज्यीय खेलकुद सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखिएको छ।

प्रतियोगिताको विजेता टोलीलाई ५,५०० अमेरिकी डलर नगदसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेता टोलीले ३,३०० अमेरिकी डलर नगदसहित ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क ६०० अमेरिकी डलर निर्धारण गरिएको छ। टोली दर्ताको अन्तिम मिति अगस्ट २८, २०२६ तोकिएको छ भने टाइ–सिट सेप्टेम्बर ३, २०२६ मा सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

भलिबल प्रतियोगितासँगै कार्यक्रमलाई थप आकर्षक बनाउन प्रत्यक्ष सांगीतिक प्रस्तुति (Live Music)सांस्कृतिक नृत्य कार्यक्रम समेत समावेश गरिनेछ। “One Team, One Dream, One Community” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले नेपाली समुदायलाई एउटै मञ्चमा जोड्दै खेलकुद र संस्कृतिको समन्वय गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि आयोजकले प्रतियोगिता संयोजक रबिन बिडारीको संयोजकत्वमा विभिन्न सम्पर्क व्यक्तिहरू तोकेको छ। इच्छुक टोलीहरूले रबिन बिडारी (347-845-1758), गंगा सुनार (929-282-5100), अशोक लामिछाने (631-829-9865), बिपिन कुँवर (+1 631-401-3561) तथा ओम विश्वकर्मा (646-407-9310) लाई सम्पर्क गर्न सक्नेछन्। आयोजक एनआरएनए एनसीसी–अमेरिका, न्यूयोर्क च्याप्टरले देशभरका नेपाली समुदायलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *