अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँद्वारा लिखित तीन साहित्यिक कृतिको विशेष विमोचन कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा “चितामाथिको लाश” नाटकसंग्रह, “सिमाना” कवितासंग्रह तथा “हृदयभित्र” गीतसंग्रहको औपचारिक विमोचन गरिनेछ। नेपाली भाषा, साहित्य तथा सिर्जनशीलतालाई प्रवासमा पनि संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
साहित्यकार कमला प्रसाईँ नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाका रूपमा परिचित रहँदै आउनुभएको छ। उहाँका कृतिहरूले समाज, संवेदना, मानवीय भावना तथा जीवनका विविध पक्षलाई समेटेको आयोजकको भनाइ छ।
कार्यक्रम आगामी जुन ६, २०२६ मा दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म ज्याक्सन हाइट्सस्थित नेपाली भान्छा घर, 74-15 Roosevelt Ave, Jackson Heights, NY 11372 मा सम्पन्न हुनेछ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले साहित्यप्रेमी, बुद्धिजीवी, सञ्चारकर्मी, लेखक, कलाकार तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गरेको छ।
GNN समाचार कक्ष