नेवा गुठी न्यूयोर्कले १३औँ शताब्दीको पद्यपाणि र १६औँ शताब्दीको नृत्यदेवी मूर्ति नेपाल फिर्ता ल्याउने अभियानबारे प्रकाशित भ्रामक समाचारको खण्डन गर्दै यो सामूहिक प्रयासको परिणाम भएको जनाएको छ।
नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण र स्वदेश फिर्ता अभियानमा सक्रिय संस्था नेवा गुठी न्यूयोर्कले हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित केही समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। संस्थाले विशेष गरी १३औँ शताब्दीको पद्यपाणि तथा १६औँ शताब्दीको नृत्यदेवीका बहुमूल्य मूर्तिहरू नेपाल फिर्ता ल्याउने प्रक्रियालाई लिएर प्रकाशित भएका केही समाचारहरू वास्तविकतासँग मेल नखाने जनाएको छ।
नेवा गुठी न्यूयोर्कद्वारा जारी प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा “व्यक्तिगत खर्चमा यी दुवै मूर्तिहरू नेपाल फिर्ता ल्याइँदैछन्” भन्ने आशयका समाचारहरू सार्वजनिक भएकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। संस्थाले यस्तो दाबी तथ्यपरक नभएको स्पष्ट गर्दै सम्पदा फिर्ता ल्याउने अभियानलाई कुनै एक व्यक्ति वा संस्थाको उपलब्धिका रूपमा प्रस्तुत गर्नु वास्तविक योगदानकर्ताहरूप्रति अन्याय हुने जनाएको छ।
विज्ञप्तिअनुसार यी दुर्लभ तथा ऐतिहासिक सम्पदाहरू नेपाल फिर्ता ल्याउने प्रक्रिया लामो समयदेखिको अन्तर्राष्ट्रिय समन्वय, कानुनी प्रक्रिया र सामूहिक सहकार्यको परिणाम हो। यस अभियानमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क, न्यूयोर्क डिस्ट्रिक्ट अटर्नी कार्यालयको Antiquities Trafficking Unit, नेपाल सरकारको पुरातत्त्व विभाग, सम्पदा संरक्षण अभियन्ताहरू, नेवा गुठी न्यूयोर्कका पदाधिकारी तथा सदस्यहरू, स्वयंसेवकहरू र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको संस्थाले उल्लेख गरेको छ।
नेवा गुठी न्यूयोर्कले विगतका वर्षहरूमा पनि विदेशमा फेला परेका नेपाली सांस्कृतिक सम्पदाहरू सुरक्षित रूपमा नेपाल पुर्याई सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको जनाएको छ। यसपटक पनि संस्थाका अध्यक्ष राजेन्द्र महर्जन र कोषाध्यक्ष प्रेम गोपाल महर्जनले संस्थाको प्रतिनिधित्व गर्दै पूर्ण रूपमा स्वयंसेवी भावनाका साथ उक्त सम्पदाहरू सुरक्षित रूपमा नेपाल पुर्याउने जिम्मेवारी पूरा गरेको विज्ञप्तिमा उल्लेख छ। संस्थाले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपाली समुदाय र सम्पदा संरक्षण अभियानको साझा सफलता भएको जनाएको छ।
संस्थाले जिम्मेवार पत्रकारिताको महत्वलाई पुनः स्मरण गराउँदै समाचार सम्प्रेषण गर्दा सत्यता पुष्टि गर्ने, सम्बन्धित पक्षसँग आधिकारिक जानकारी लिने तथा तथ्यमा आधारित सामग्री मात्र प्रकाशन–प्रसारण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि अपुष्ट दाबी वा भ्रम फैलाउने सामग्री साझा नगर्न अनुरोध गरिएको छ।
नेवा गुठी न्यूयोर्कले नेपालको अमूल्य सांस्कृतिक सम्पदाको खोज, संरक्षण र स्वदेश फिर्ता अभियान कुनै व्यक्ति विशेषको नभई साझा राष्ट्रिय अभियान भएको उल्लेख गर्दै यसमा योगदान पुर्याउने सबै सरकारी निकाय, अनुसन्धानकर्ता, अभियन्ता, स्वयंसेवक, कूटनीतिक नियोग तथा सहयोगी संस्थाहरूको भूमिकालाई समान सम्मानका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ।
संस्थाले भविष्यमा नेवा गुठी न्यूयोर्कसँग सम्बन्धित आधिकारिक सूचना, धारणा वा जानकारी आवश्यक परे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको आधिकारिक इमेलमार्फत मात्र सम्पर्क गर्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ। साथै, नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पुनःस्थापनाको अभियानलाई तथ्य, पारदर्शिता र सहकार्यका आधारमा अगाडि बढाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको पनि संस्थाले जनाएको छ।