काँडाबीच फुलेको फूल : हजुरी शाहको संघर्ष, साहस र सफलताको स्वर्णिम यात्रा..

जीवन सधैँ फूलैफूलले सजिएको बाटो हुँदैन। कहिले जीवनले फूल दिन्छ, कहिले काँडा। तर काँडाले सधैँ घोचिरहँदैन; कहिलेकाहीँ त्यही काँडाको बीचबाट सबैभन्दा सुन्दर फूल फुल्छ। हजुरी शाहको जीवन त्यस्तै एउटा फूलको कथा हो—संघर्षले सिंचेको, आँसुले हुर्काएको र आत्मविश्वासले फुलाएको एउटा जीवनगाथा।

स्वर्गीय बडाहाकिम नन्दबहादुर शाह र माता भवानी शाहकी सुपुत्री हजुरी शाहको जन्म वि.सं. २०२१ सालमा काठमाडौंको धोबीधारामा भएको हो। यद्यपि उनको बाल्यकाल भने हेटौँडाको रमणीय परिवेशमा बित्यो। बाल्यकालदेखि नै उनी चञ्चले, सिर्जनशील र प्रतिभाशाली स्वभावकी थिइन्। विद्यालयको खाली समयमा कापीलाई बेरर माइक्रोफोन बनाउँदै गीत गुनगुनाउने उनको बानी थियो। साथीहरू रमाउँथे, शिक्षकहरू प्रोत्साहन गर्थे। सायद त्यतिबेला कसैले अनुमान गरेको थिएन कि यही बालिका पछि राष्ट्रिय खेलाडी र गायिकाका रूपमा परिचित हुनेछिन्। संगीतसँगै खेलकुद पनि उनको जीवनको अर्को महत्वपूर्ण हिस्सा बन्यो। विशेषगरी हाई जम्पमा उनको असाधारण रुचि थियो। विद्यालयका खेलमैदानबाट सुरु भएको यात्रा विस्तारै राष्ट्रिय स्तरसम्म पुग्यो। वि.सं. २०३८ सालमा काठमाडौंको दशरथ रंगशालामा आयोजित प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा नारायणी अञ्चलको प्रतिनिधित्व गर्दै उनले उल्लेखनीय सफलता हासिल गरिन्। उक्त प्रतियोगितामा महिला हाई जम्पतर्फ द्वितीय स्थान प्राप्त गरी रजत पदक जितिन् भने ४०० मिटर रिले दौडमा तृतीय स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरिन्। एउटै राष्ट्रिय प्रतियोगितामा दुई पदक जित्न सफल उनी त्यस समय नारायणी अञ्चलका प्रतिभाशाली महिला खेलाडीमध्ये एकका रूपमा परिचित भइन्। एकातिर खेल मैदानमा उचाइ नाघ्ने सपना थियो भने अर्कोतिर मञ्चमा गीतमार्फत दर्शकको मन जित्ने कला।

युवावस्थामा उनले आफ्नै रोजाइका जीवनसाथीसँग विवाह गरिन्। त्यो समय प्रेम विवाहलाई समाजले सहज रूपमा स्वीकार गर्ने वातावरण थिएन। परिवार र समाजका केही असहमतिबीच सम्पन्न भएको विवाहले उनको जीवनमा नयाँ जिम्मेवारी थप्यो। संयुक्त परिवार, घरपरिवार र मातृत्वको भूमिकाले उनको खेलकुद तथा संगीत यात्रालाई केही हदसम्म सीमित बनायो। तर जीवनको सबैभन्दा कठिन मोड अझै आउन बाँकी थियो। जब उनका कान्छा छोरा करिब १० महिनाका मात्र थिए, उनका पति आफन्तहरू बसोबास गर्ने म्यानमार (बर्मा) जाने निर्णयमा पुगे। त्यहाँ करिब तीन महिना बसेर फर्किने कुरा उनले हजुरी शाहलाई बताएका थिए। तर परिस्थितिले फरक मोड लियो। तीन महिनाको भनिएको यात्रा महिना हुँदै वर्षहरूमा बदलियो। प्रतीक्षाको त्यो समय झण्डै साढे दस वर्षसम्म लम्बियो। एक विवाहित महिला, दुई सन्तानकी आमा र सपनाहरूले भरिएको युवतीका लागि त्यो समय असाधारण पीडा र संघर्षको कालखण्ड थियो। परिवारको साथ थियो, तर जीवनसाथीको अभावले बनाएको खालीपन कसैले भर्न सक्दैनथ्यो। समाजका प्रश्न, मानिसहरूका टिप्पणी र एक्लोपनको बोझबीच उनले आफ्ना सन्तानको भविष्यलाई केन्द्रमा राखेर जीवनलाई अगाडि बढाइन्।

तर हजुरी शाह ती महिलामध्येकी थिइन् जसले परिस्थितिलाई आफ्नो भाग्यको अन्तिम निर्णयकर्ता बन्न दिइनन्। उनले आत्मनिर्भर बन्ने निर्णय गरिन्। सुरुमा परिवारले आवश्यक छैन भन्यो। सम्पन्न परिवारकी बुहारीले किन काम गर्नुपर्‍यो भन्ने प्रश्न पनि उठ्यो। तर उनको दृढ इच्छाशक्ति अगाडि अन्ततः सबै सहमत भए। त्यसपछि सुरु भयो उनको अर्को संघर्षपूर्ण यात्रा। करिब १६ वर्षसम्म शिक्षिकाका रूपमा सेवा गर्दै उनले आफ्ना सन्तानहरूको शिक्षा, पालनपोषण र भविष्य निर्माणलाई जीवनको मुख्य लक्ष्य बनाइन्। शिक्षणसँगै स्वेटर, मफलर र अन्य हस्तकलाका सामग्री उत्पादन गरी अतिरिक्त आम्दानी जुटाइन्। दिनको १६–१७ घण्टासम्म निरन्तर मेहनत गरेर उनले आफ्ना छोराहरूलाई उच्च शिक्षा र अवसरका लागि अमेरिका पठाउन सफल भइन्। आफूले देखेका धेरै सपना अधुरै राखेर उनले आफ्ना सन्तानका सपनाहरू पूरा गरिन्।

सन्तानको भविष्यका लागि लिएको आर्थिक दायित्व पूरा गर्न उनी आफैं इजरायल पुगिन्। त्यहाँ आठ वर्षसम्म केयरगिभरका रूपमा काम गर्दै उनले ऋण चुक्ता गरिन् र जीवनको अर्को अध्याय लेखिन्। इजरायल बसाइका क्रममा पनि उनी केवल रोजगारीमा सीमित भइनन्। अपाङ्ग बालिकाहरूको सहयोग अभियान, बाढीपहिरो पीडित सहायता, भूकम्प राहत अभियान तथा विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रहिन्। पछि उनी अमेरिका आइन्, जहाँ आज पनि उनी आफ्नो पेशागत जीवनसँगै समाजसेवामा उत्तिकै सक्रिय छिन्। कोभिड–१९ महामारीका बेला सहयोग अभियान, रक्तदान, विद्यार्थी सहायता, मानव सेवा आश्रमलाई सहयोग तथा विभिन्न सामुदायिक गतिविधिहरूमा उनको योगदान निरन्तर रह्यो। विशेषगरी महिला सशक्तीकरणको विषयमा उनी गहिरो रूपमा संवेदनशील छिन्। उनका लागि महिला हिंसा केवल शारीरिक हिंसा होइन; महिलाका सपना रोक्नु, अवसरबाट वञ्चित गर्नु र आत्मनिर्भर बन्न नदिनु पनि हिंसाकै अर्को रूप हो।

आज हजुरी शाहको खेलकुद, संगीत, शिक्षा, समाजसेवा र संघर्षमय जीवन यात्राको स्वर्णिम सम्मान गरिँदै गर्दा यो केवल एक व्यक्तिको सम्मान होइन। यो त्याग, साहस, मातृत्व, आत्मनिर्भरता र अदम्य इच्छाशक्तिको सम्मान हो। राष्ट्रिय खेलाडी, गायिका, शिक्षिका, आप्रवासी श्रमिक, समाजसेवी र प्रेरणादायी महिलाका रूपमा उनले जीवनका हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गरिन्। सम्पन्न परिवारमा जन्मिएर, सामाजिक चुनौतीहरू सामना गर्दै, एक्लै सन्तान हुर्काउँदै, वैदेशिक भूमिमा संघर्ष गर्दै र अन्ततः समाजमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित हुँदै आएको उनको यात्रा नेपाली महिलाको अदम्य साहसको जीवित उदाहरण हो। हजुरी शाहको जीवनले आजको पुस्तालाई एउटा सन्देश दिन्छ—जीवनमा आउने दुःख र चुनौतीहरू अन्त्य होइनन्; आत्मविश्वास, परिश्रम र धैर्य कायम राख्न सकियो भने काँडाबीच पनि फूल फुल्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *