जुन १४ | GNN TV & News
न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा आयोजित समाजसेवी, खेलाडी तथा गायिका हजुरी शाहको जीवनयात्रामा आधारित विशेष सम्मान तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। खेलकुद, संगीत तथा सामाजिक सेवामा पाँच दशकभन्दा लामो योगदान पुर्याएकी हजुरी शाहको संघर्ष, समर्पण र सफलताको यात्रालाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको आयोजना GNN Media & Event Inc. ले गरेको थियो। कार्यक्रमको सहजीकरण (MC) दीपर्सन प्रसाईंले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्र जगतका चर्चित चलचित्र निर्माता तथा निर्देशक दिनेश लिङ्देन रहनुभएको थियो। उहाँले हजुरी शाहको जीवनकथा कुनै चलचित्रभन्दा कम नरहेको उल्लेख गर्दै महिला सशक्तीकरण, सामाजिक विभेदविरुद्धको संघर्ष तथा सफलताको कठिन यात्रालाई समाजका लागि प्रेरणादायी उदाहरणको रूपमा व्याख्या गर्नुभयो। साथै उहाँले हजुरी शाहको मधुर गायन प्रतिभालाई सम्मान गर्दै आगामी दिनमा संगीत क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष सम्मानस्वरूप न्यूयोर्क स्टेट सिनेट डिस्ट्रिक्ट १३ की सिनेटर जेसिका रामोसको कार्यालयबाट हजुरी शाहलाई Proclamation प्रदान गरिएको थियो। उक्त सम्मानपत्रमार्फत उहाँको सामाजिक सेवा, खेलकुद र सांगीतिक यात्राको उच्च मूल्यांकन गर्दै समाजमा पुर्याएको योगदानको कदर गरिएको थियो। साथै सिनेटर रामोसको तर्फबाट उहाँलाई आगामी दिनमा अझ बढी सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।
विशेष अतिथि NRNA NCC New York Chapter का अध्यक्ष बसु लामिछानेले हजुरी शाहको जीवनयात्रा वास्तवमै प्रेरणादायी रहेको बताउँदै उहाँको सफलताको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रमका अर्का बिशेस अतिथि साहित्यकार तथा पुर्ब अध्यापक डा. गोबिन्द कोइरालाले हजुरी शाह आफ्नो पुरानो चिनाजानि रहेको, अत्यन्तै मिजासिलो, साहसि र कुनै काममा पछाडि नपर्ने र समाजिक कर्यमा सदैब अग्रसर रहने सिर्जनशिल महिलाको रहेको बताउनु भयो । त्यसैगरी साहित्यकार कमला प्रसाईंले प्रस्तुत गरिएको जीवनी वृत्तचित्रले आफूलाई गहिरो रूपमा प्रभावित पारेको बताउनुभयो। गायक अभय ढुंगेलले हजुरी शाह सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो भने सामाजिक अभियन्ता नर्बदा क्षेत्रीले आफुहरु नेपालमा रहदा सँगै सिक्षण पेशामा आबद्द रहेको कुरा स्मरण गर्दै वहाको मित्रबत ब्यबहार सहन्शिलता र सालिनताको प्रसङ्शा गर्नुभयो । नेपाली चलचित्रकर्मी वीरेन्द्र हमालले हजुरी शाहको जीवनकथा मन छुने प्रेरणादायी आत्मकथा भएको बताउनुभयो।

GNN Media & Event Inc. का CEO वीरेन्द्र गिरीले हजुरी शाहको वृत्तचित्र अवलोकनपछि एकल महिलाले समाजमा भोग्नुपरेका पीडा, चुनौती र सामाजिक व्यवहारका बाबजुद निरन्तर संघर्ष गर्दै सफलताको उचाइ हासिल गरेको यात्राप्रति सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, गायक, कलाकार, साहित्यकार, पत्रकार तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
कार्यक्रमको अन्त्यमा हजुरी शाहले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, खेलाडी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफ्नो जीवनी वृत्तचित्र केवल सफलताको कथा प्रस्तुत गर्नका लागि मात्र नभई सफलताको पछाडि लुकेका संघर्ष, पीडा, निरन्तर मेहनत र आत्मविश्वासको यात्रालाई समाजसमक्ष उजागर गर्ने उद्देश्यले तयार गरिएको बताउनुभयो। कार्यक्रममा उहाँले केही राष्ट्रिय गीत तथा अन्य सांगीतिक प्रस्तुति साथै आफ्नो जीवनकथा, जीवन यात्रामा भोग्नु परेका पिडा र लक्ष प्राप्तिका लागि गरिएको अथक निरन्तर प्रयासको जानकारि समेत दिनुभएको थियो, जसले उपस्थित दर्शकहरूलाई भावुक र उत्साहित बनाएको थियो। प्रेरणा, सम्मान र आत्मबलले भरिएको उक्त कार्यक्रम अत्यन्तै भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
