न्युजर्सीमा दोस्रो “नेपाल डे” नेपाली भाषा, संस्कृति र सामुदायिक पहिचानलाई जोड्ने विशेष सांस्कृतिक उत्सव आयोजना हुँदै,

फेयर लन, न्युजर्सी — अमेरिकाको न्युजर्सी राज्यस्थित फेयर लनमा आगामी जुन ६, २०२६ शनिबार दोस्रो “नेपाल डे New Jersey” आयोजना हुने भएको छ। नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रम मेमोरियल पार्क (Schmidt Field), फेयर लनमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। अमेरिकाको व्यस्त जीवनशैलीबीच नेपाली समुदायलाई आफ्नो मौलिक पहिचान, भाषा, संस्कार र सांस्कृतिक जरोसँग जोड्ने साझा चौतारीका रूपमा “नेपाल डे” लाई हेरिएको छ।

कार्यक्रमका अध्यक्ष तथा समाजसेवी एवं उद्यमी Rajendra Shrestha का अनुसार यो केवल मनोरञ्जनात्मक जमघट मात्र नभई प्रवासमा नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा भावनात्मक पहिचानलाई दीर्घकालीन रूपमा अगाडि बढाउने अभियान हो।

“प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र आफ्नो मौलिक पहिचानसँग जोडिराख्नु अहिलेको आवश्यकता हो,” श्रेष्ठले जीएनएन टिभी एन्ड न्युजसँग भने, “नेपाल डे त्यही उद्देश्यसहित समुदायलाई एकै ठाउँमा जोड्ने साझा प्रयास हो।”

कार्यक्रमको संयोजन सञ्जीव श्रेष्ठले गर्नेछन् भने औपचारिक सञ्चालन नग्मा श्रेष्ठले सम्हाल्ने कार्यक्रम रहेको छ।

यस कार्यक्रममा न्युयोर्कस्थित Consulate General of Nepal, New York का महावाणिज्यदूत Dadhiram Bhandari प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। त्यस्तै फेयर लन नगरकी मेयर Cristina Cutrone विशेष अतिथिका रूपमा उपस्थित रहने जनाइएको छ।

आयोजकहरूका अनुसार कार्यक्रमलाई नेपाली समुदायका विभिन्न सामाजिक तथा गैरआवासीय संस्थाहरूले सहकार्य गरिरहेका छन्। NRNA NCC USA, एनआरएनए New Jersey च्याप्टर, Greater Jersey Nepali Samaj, New Jersey Nepali Samaj, Friends of Nepal New Jersey, INAS New Jersey, Women for Cause तथा ARC for Nepal लगायत संस्थाहरूको सक्रिय सहकार्य रहेको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित नेपाली गायक Jems Pradhan तथा Krishna Kafle को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै स्थानीय तथा प्रवासी कलाकारहरूले नेपाली लोकनृत्य, मौलिक भेषभूषा तथा परम्परागत संगीतमार्फत नेपाली संस्कृतिको जीवन्त प्रस्तुति दिने कार्यक्रम रहेको छ।

खानापिनातर्फ नेपाली मौलिक स्वाद झल्काउने सेलरोटी, मःमः, चाउमिन लगायत विभिन्न नेपाली परिकारका स्टलहरू रहनेछन्। नेपाली हस्तकला, परम्परागत वस्त्र, कला सामग्री तथा विभिन्न पेशागत एवं व्यवसायिक प्रवर्द्धनका स्टलहरू पनि कार्यक्रमका आकर्षणका केन्द्र रहने आयोजकहरूले बताएका छन्।

आयोजक समितिका अनुसार “नेपाल डे New Jersey” लाई प्रत्येक वर्ष जुन महिनाको पहिलो शनिबार नियमित रूपमा आयोजना गर्ने दीर्घकालीन योजना रहेको छ। भविष्यमा यस कार्यक्रमलाई अझ बृहत् नेपाली सांस्कृतिक महोत्सवका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको जनाइएको छ।

कार्यक्रममा सहभागीहरूका लागि प्रशस्त निःशुल्क पार्किङको व्यवस्था गरिएको छ भने प्रवेश सर्वसाधारणका लागि खुला रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *