न्यूयोर्कको असेंब्ली डिस्ट्रिक्ट ३० (AD-30) का डेमोक्रेट उम्मेदवार सोमनाथ घिमिरेको समर्थनमा आयोजित भव्य कार क्याराभान र्याली सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। आगामी जुन २३ मा हुने प्राथमिक निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त र्यालीमा दर्जनौं सवारी साधन सहभागी भएका थिए। सहभागी सवारी साधनहरूमा उम्मेदवारका ब्यानर, पोस्टर तथा विभिन्न प्रचार–प्रसार सामग्री सजाइएका थिए भने र्यालीमार्फत मतदातामाझ चुनावी सन्देश पुर्याउने प्रयास गरिएको थियो।
अल्पसंख्यक वर्ग तथा आप्रवासी समुदायको प्रतिनिधित्व गर्दै उनीहरूको हकहितको संरक्षणका लागि सम्पूर्ण मतदातालाई एकजुट भई सोमनाथ घिमिरेलाई सहयोग र निर्वाचित गराउन आह्वान गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजक समितिले जनाएको छ। र्यालीमा विभिन्न समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
६९औं स्ट्रीटबाट सुरु भएको र्याली , ग्रान्ड एभिन्यू, ज्याक्सन हाइट्सलगायतका मुख्य सडकहरू हुँदै डाइभर्सिटी प्लाजासम्म पुगेको थियो। दर्जनौं कार तथा मोटरसाइकलहरूको लामबद्ध सहभागिताले स्थानीय क्षेत्रमा चुनावी माहोललाई थप उत्साहित बनाएको थियो। डाइभर्सिटी प्लाजामा पुगेर आयोजित कोणसभामा सहभागीहरूले उम्मेदवार घिमिरेप्रति समर्थन व्यक्त गर्दै निर्वाचनमा विजयको शुभकामना दिएका थिए।






निर्वाचनको मिति नजिकिँदै जाँदा सोमनाथ घिमिरेको चुनावी सक्रियता अन्य उम्मेदवारहरूको तुलनामा उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ। मतदाता, सामाजिक तथा राजनीतिक संघ–संस्था, व्यवसायिक समुदाय र स्वयंसेवकहरूको साथ तथा समर्थन पनि निरन्तर विस्तार हुँदै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। विशेषगरी आप्रवासी समुदाय, युवा वर्ग तथा विभिन्न जातीय समुदायका मतदाताबीच घिमिरेको पहुँच मजबुत बन्दै गएको देखिएको छ।
निम्न आय भएका परिवारको जीवनस्तर सुधार, किफायती आवास (Affordable Housing), ICE सम्बन्धी नीतिमा कडा निगरानी, साना तथा मझौला व्यवसायीका लागि थप अवसर र सुविधा, सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा सबैका लागि सहज यातायात व्यवस्थालगायतका मुद्दामा लामो समयदेखि वकालत गर्दै आएका घिमिरेलाई बहुभाषिक, बहुसांस्कृतिक र आप्रवासी समुदायको साझा उम्मेदवारका रूपमा हेरिएको छ। निष्पक्ष, समावेशी र समृद्ध ‘फेयरर क्विन्स’ निर्माणका लागि सोमनाथ घिमिरेलाई मतदान गरी नेतृत्व प्रदान गर्न आयोजक समितिका सदस्यहरूले मतदातासमक्ष विनम्र अपिल गरेका छन्।